नेपाल सरकारको आ.व. २०६७/०६८ को नीति तथा कार्यक्रम अनुसार मध्य पहाडी क्षेत्रमा योजनाबद्ध, आधुनिक तथा दिगो शहर विकास गर्ने उद्देश्यसहित “नयाँ शहर आयोजना” सञ्चालनमा आएको हो । यस आयोजनाको मुख्य लक्ष्य देशभर सन्तुलित शहरीकरण प्रवर्द्धन गर्नु, अव्यवस्थित बसाइँसराइ नियन्त्रण गर्नु तथा क्षेत्रीय आर्थिक विकासलाई गति दिनु हो ।

यस आयोजना अन्तर्गत मध्य पहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग) का १२ वटा नयाँ शहरहरूको योजनावद्ध विकास कार्य भइरहेको छ । राष्ट्रिय शहरी नीतिद्वारा निर्देशित “सन्तुलित शहरी विकास” को अवधारणासँगै दिगो विकास लक्ष्यलाई समेत आत्मसात गर्दै यो आयोजना अघि बढाइएको हो । विशेषगरी मध्य पहाडी क्षेत्रबाट सीमित ठूला शहरहरूमा भइरहेको अत्यधिक बसाइँसराइका कारण उत्पन्न अव्यवस्थित शहरीकरणलाई नियन्त्रण गर्दै, रणनीतिक रूपमा महत्वपूर्ण स्थानहरू विशेषगरी मध्य पहाडी (पुष्पलाल) लोकमार्ग र उत्तरदक्षिण राजमार्गका मिलन बिन्दु तथा आसपासका बस्तीहरूमा आधारभूत पूर्वाधारसहित योजनाबद्ध नयाँ शहर विकास गर्ने उद्देश्यले यस आयोजनाको सुरुवात गरिएको हो । साथै, हुलाकी लोकमार्ग, तराईमधेस तथा हिमाली पदमार्गसँग जोडिएका क्षेत्रहरूमा अवस्थित अन्य ४२ वटा पहिचान गरिएका नयाँ शहर, स्मार्ट सिटी तथा हिमाली बस्तीहरूको अध्ययन गर्ने कार्य पनि भइरहेको छ ।

यस आयोजनाले आधुनिक शहरी सेवा सुविधासमेतका शहरहरूको विकास गरी भौगोलिक सन्तुलन कायम गर्ने, विकास तथा सेवा प्रवाहको लागत घटाउने, जनसङ्ख्या व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा स्थानीय आर्थिक गतिविधिलाई प्रोत्साहन गर्दै राष्ट्रिय आर्थिक समृद्धिमा योगदान पुर्याउने अपेक्षा गरिएको छ । यही कारणले १५ औं आवधिक योजनाले यस आयोजनालाई रूपान्तरणकारी आयोजनाको रूपमा अङ्गीकार गरेको छ । यस आयोजना अन्तर्गत प्रत्येक पहिचान गरिएका शहरहरूलाई क्षेत्रीय आर्थिक केन्द्रका रूपमा विकास गर्ने, व्यवस्थित वस्ती विकासका लागि भूउपयोग तथा भौतिक विकास योजना तर्जुमा गर्ने, कृषि, पर्यटन, शिक्षा, सांस्कृतिक तथा औद्योगिक क्षेत्रहरूको प्रवर्द्धन गर्ने तथा आवश्यक आधुनिक शहरी पूर्वाधारहरूको विकास गर्ने कार्यहरू प्राथमिकताका साथ सञ्चालन गरिँदै आएका छन् ।

कार्यान्वयनका लागि गुरुयोजना तथा रणनीतिक शहरी पूर्वाधारहरूको विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार पार्ने, आवश्यक जग्गा क्रमशः प्राप्त गर्दै जाने तथा आधुनिक शहरी विकासका विविध विधिहरू अपनाई वस्ती विकास गर्ने नीति लिइएको छ । आयोजना प्रभावकारी रूपमा सञ्चालन गर्न केन्द्रीय आयोजना समन्वय कार्यालय तथा ११ वटा नयाँ शहरमा आयोजना कार्यालय स्थापना गरिएको छ, जसले स्थानीय तथा केन्द्रीय तहबीच समन्वयात्मक रूपमा कार्य सम्पादन गर्दै आएको छ । दीर्घकालीन रूपमा करिब २० वर्ष अवधिभित्र प्रत्येक शहरमा आधुनिक भौतिक, सामाजिक तथा आर्थिक पूर्वाधार निर्माण गर्ने लक्ष्य लिइएको छ । हालसम्म यस आयोजनाको सञ्चालन नेपाल सरकारको बजेट उपशीर्षक नं. ३४७०१११० अन्तर्गत मात्र भइरहेको छ ।

यसरी “नयाँ शहर आयोजना” ले नेपालको सन्तुलित क्षेत्रीय विकास, योजनाबद्ध शहरीकरण तथा दिगो आर्थिक रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।