भानु साहित्य उद्यानको शिलान्यास कार्यक्रम

Government of Nepal

भानु नगरपालिका–४ चुँदीरम्घा, तनहुँस्थित आदिकवि भानुभक्त आचार्यको जन्मस्थलमा निर्माण हुन लागेको “भानु साहित्य उद्यान” को शिलान्यास १४ बैशाख २०८३ मा सम्पन्न भएको छ। सम्माननीय राष्ट्रपतिज्यूको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा उद्यान निर्माणको औपचारिक शुभारम्भ गरिएको हो। करिब ४३५ रोपनी क्षेत्रफलमा निर्माण हुने उक्त उद्यान नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्ने महत्वपूर्ण केन्द्रका रूपमा विकास गरिने लक्ष्य राखिएको छ। गुरुयोजना अनुसार उद्यानभित्र भानुभवन, आदिकवि भानुभक्तको विशाल प्रतिमा, मूर्ति वाटिका, रामायण मन्दिर, भानु साहित्य ग्राम, वनस्पति उद्यान, पार्किङ क्षेत्र तथा अन्य संरचनाहरू निर्माण गरिनेछन्। शहरी विकास मन्त्रालय अन्तर्गत चालु आर्थिक वर्षमा पूर्वाधार निर्माणका लागि बजेट विनियोजन भई भानुभवन तथा सिँढी निर्माण कार्यको विस्तृत डिजाइन र लागत अनुमान तयार गरी बोलपत्र प्रक्रिया अगाडि बढाइएको छ। आगामी आर्थिक वर्षमा थप संरचना निर्माण तथा पहुँच मार्ग सुधारका कार्यक्रमसमेत प्रस्ताव गरिएको छ। भानु साहित्य उद्यानको निर्माणबाट तनहुँ जिल्लामा साहित्यिक, सांस्कृतिक तथा धार्मिक पर्यटन प्रवर्द्धन भई समग्र आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।